बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीहरूलाई आवश्यक सहजीकरणका सम्बन्धमा

हालै भोटेकोसीमा आएको बाढी तथा डुबानका कारण ठूलो जनधनको क्षती भयो । यो बाढीले अटोमोबाइल क्षेत्रलाई पनि ठूलो धक्का पुग्यो। देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको प्रति नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। हामी यस दुःखद घडीमा हाम्रा सदस्य र ब्यवसायीहरुको साथमै छौं।
बाढी तथा डुबानका कारण भन्सार नाका लगायत विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुगेको, धेरै सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण तथा अन्य व्यावसायिक सम्पत्तिमा समेत क्षति पुगेको जानकारी आइरहेका छन्। यस कठिन परिस्थितिमा प्रभावित व्यवसायी तथा सदस्यहरूलाई आवश्यक सहजीकरण तथा समन्वय गर्ने उद्देश्यले नाडाले सम्बन्धित सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालय र अन्य सरोकारवाला निकायसँग आवश्यक पहल गर्ने काम सुरु गरिसकेको छ। यसका लागि बाढी तथा डुबानबाट प्रभावित नाडाका सदस्य कम्पनीहरूलाई आफ्नो क्षतिको यथार्थ तथा प्रमाणित विवरण नाडा सचिवालयमा उपलब्ध गराउन अनुरोध पनि गर्दछौं। 
क्षतिको विवरणमा सम्भव भएसम्म देहायका विषय समावेश गर्न अनुरोध छः
१. बाढी तथा डुबानबाट क्षति भएका सवारीसाधनको विवरण
२. हराएका वा सम्पर्कविहीन सवारीसाधनको विवरण
३. सवारीसाधन रहेको स्थान तथा सम्बन्धित भन्सार नाकाको विवरण
४. सवारीसाधनको संख्या, प्रकार तथा उपलब्ध पहिचान विवरण
५. गोदाम, कार्यालय तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विवरण
६. बीमा गरिएको सम्पत्ति तथा सवारीसाधनको विवरण
७. बीमा दाबीका लागि आवश्यक कागजात तथा विवरण
८. बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसँग सम्बन्धित विवरण
९. अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरण
नाडाले प्राप्त विवरणका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहजीकरणका लागि पहल गर्नेछ । विशेषगरी क्षतिको समग्र विवरण संकलन तथा अभिलेखीकरण गर्नेछौं। बीमा दाबी प्रक्रियालाई शीघ्र र सहज बनाउन सम्बन्धित बीमा कम्पनीसँग समन्वय गर्ने र भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान तथा आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समन्वय गर्ने काममा नाडा लाग्नेछ। 
त्यसैगरी प्रभावित व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन वा अन्य सम्भावित सहजीकरणका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने हाम्रो योजना छ। सरकार तथा सम्बन्धित सरोकारवाला निकायसमक्ष अटोमोबाइल क्षेत्रले व्यहोरेको क्षतिको समग्र विवरण प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्नेछौं। यस कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नाडाले आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी प्रभावित सदस्यहरूको समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने र समाधानका लागि आवश्यक पहल गर्नेछ। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल यस कठिन परिस्थितिमा आफ्ना सदस्य व्यवसायीहरूसँगै रहेको जानकारी गराउँदै, प्रभावित सबै सदस्यहरूलाई यथार्थ क्षतिको विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराई आवश्यक समन्वय तथा सहजीकरणमा सहयोग पुर्‍याई दिनु हुन हार्दिक अनुरोध गर्दछौं।


सुरेन्द्रकुमार उप्रेती
अध्यक्ष
नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल

Gallery

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush