अर्थ मन्त्रीसंग नाडा प्रतिनिधि मण्डलको भेट, अर्थ मन्त्री सकारात्मक ।
मिति २०७९ बैशाख ४ गते, नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले माननीय अर्थ मन्त्री श्री जनार्दन शर्मासंग भेट गरेको छ ।
माननीय मन्त्री शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिनु भयो । उहाँले भन्नु भयो, अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो उहाँले भन्नुभयो । निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ती नजनाउनुहोला । यो केही समयका लागि मात्र हो । अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको बताउनु भयो । अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको छ । यो सर्वथा गलत हो भन्नु हुदै उपस्थित नाडा प्रतिनिधिहरुलाई संस्थागत ढङ्गले नै अर्थतन्त्रको बास्तविक अवस्थाबारे प्रकाश पार्न पनि आग्रह गर्नुभयो । उक्त भेटघाटमा अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गर्दे ३ खर्व ५० अर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको र देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजार भन्दा बढीलाई अवसर दिएको बताउनु भयो । सोही क्रममा अध्यक्ष थापाले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तिय निकायहरुले गरिरहेको अवरोध खुलाउन आग्रह गर्नु भएको थियो । त्यसैगरी उहाँले काठमाण्डौंमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरुको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाब रहेको हुँदा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनी स्थलको निर्माणका लागि बजेट बिनियोजन गरि दिनु हुन समेत अनुरोध गर्नु भएको थियो ।