विभिन्न मन्त्रालयमा नाडा र सियामका संयुक्त प्रतिनिधिको भेटघाट तथा छलफल
मिति २०८१ भाद्र १२ गते नाडाका वरिष्ठ उपाध्यक्ष श्री आकाश गोल्छाज्यूको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ ।
यसै क्रममा SIAM का सहसभापती यसपाल साँच्चरको नेतृत्वमा काठमाण्डौमा आइपुगेको सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्स (SIAM) का २५ सदसिय प्रतिनिधि मण्डलले माननीय उपप्रधान तथा अर्थमन्त्रीसंग भेटगरी नेपाल र भारत विच नेपालमा अटोमोवाइल उद्योग तथा व्यवसायको सन्दर्भमा संयुक्त लगानी गर्ने, लगायतका विभिन्न विषयहरुका सम्बन्धमा विशेष छलफल गरिएको थियो ।
नाडा र सियामको सो संयुक्त प्रतिनिधिमण्डलले सोही दिन माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल र माननीय उद्योग, वाणिज्य तथा आपूतिमन्त्री दामोदर भण्डारीसंग पनि मन्त्रालयमा सोही विषयमा सार्थक छलफल गरेको थियो ।
सो प्रतिनिधि मण्डलमा धेरै जसो ठुला ठुला Original Equipment Manufacturers (OEMs) को उपस्थिति सहित अटो उद्योगका सबै खण्डहरू (जस्तै यात्रुवाहक सवारी, व्यावसायिक सवारी र दुईपाङ्ग्रे सवारी साधन) को सहभागिता रहेको थियो । भ्रमणका क्रममा प्रतिनिधि मण्डलले भेटमा भारत र नेपालको अटो उद्योगमा भइरहेको विकासक्रम र दुई देशबीचको निरन्तर सहयोगको महत्वका बारेमा छलफल भएको थियो । सियाम र नाडाले अटो उद्योगका लागि भविष्यको पहल, प्रविधि श्रृङ्खला र तालिमका लागि संयुक्त रूपमा सहकार्य गर्न सहमती पनि गरेको थियो ।
उक्त छलफलम सियामले नाडासँग मिलेर नेपाल सरकारलाई अटो क्षेत्रका लागि भिजन योजना विकास गर्न अनुरोध गरेको थियो । जसले सबै सरोकारवालाहरू जस्तै डिलर, उद्योग, कम्पोनेन्ट बिक्रेता, इत्यादिलाई सरकारको दुरदृष्टी अनुरूप आफ्नो व्यवसायको योजना बनाउन सक्षम बनाउनेछ । नेपालमा सवारीसाधन दर्ता, संकलन र रिपोर्टिङका लागि बलियो योजनाको विकास गर्ने, सीप अभिवृद्धि र चालक तालिमका लागि संयुक्त कार्यक्रमहरू सिर्जना गर्ने सम्भावनाको खोजी गर्ने जस्ता विषयहरुमा छलफल गरेको थियो ।
नाडा र सियाम दुबैले बंगलादेश र श्रीलंकासँगै सन् २०२४ मा गठन भएको South Asian Automotive Forum (SAAF) लाई सुदृढ गर्दै भारत र नेपालको अटो क्षेत्रबीचको सम्बन्ध निर्माणमा नजिकबाट काम गर्न सहमत भएका छन् ।
नाडाले यस्तो भेटघाटबाट नेपाल भारतविचको जनस्तरको सम्बन्ध समेत थप सुदृढ हुने र निकट भविश्य मै केही परिणाम समेत आउने अपेक्षा राखेको छ । उक्त प्रतिनिधी मण्डलमा नाडाकोतर्फबाट उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ, नाडाका सचिव विक्रम सिंहानिया, नाडाका केन्द्रीय कार्य समिति सदस्य निशान ढकाल, नाडाका एशोसिएशन सचिव सुरेन्द्र प्रधान र तालिम कोओर्डिनेटर आरजु श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।